नेपालले क्यानाडाविरुद्धको सिरिज क्लिनस्विप गरेको छ। तीन खेलको उक्त सिरिजको अन्तिम भिडन्तमा नेपाल ९ विकेटले विजयी भएको हो।
सोमबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २ सय ३३ रनको लक्ष्य नेपालले ४५ औं ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । अनिल र भीमको शतकीय इनिङसँगै कीर्तिमानी साझेदारीमा नेपालले सहज जित दर्ता गरेको हो । यसअघि पहिलो खेल ७ रन र दोस्रो खेल ४ विकेटले जितेको नेपालले ३-० ले सिरिज क्लिनस्विप गर्यो ।
अघिल्लो खेलमा अर्धशतक बनाएका अनिलले १ सय १२ रनको योगदान दिँदा भीम पनि १ सय १ रनमा नटआउट रहे । अनिलले १ सय २४ बलमा १२ चौका र २ छक्का प्रहार गरे । भीमले १ सय २९ बलमा ११ चौका र १ छक्का जोडेका थिए ।
अनिल र भीमले ओडीआई क्रिकेटमा नेपालका लागि सबैभन्दा ठूलो साझेदारी पनि बनाए । दोस्रो विकेटका लागि यी दुईले १ सय ८९ रनको साझेदारी गरे । यसअघि सन् २०२३ मा कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध १ सय ७१ रनको साझेदारी गरेका थिए ।
नेपालबाट ओडीआईमा शतक पूरा गर्ने अनिल सातौं र भीम खेलाडी बने । अनिल शतक प्रहार गर्ने दोस्रो विकेटकिपर समेत हुन् । नेपालका लागि यसअघि रोहित पौडेल (१२६), पारस खड्का (११५), कुशल भुर्तेल (११५), आसिफ शेख (११०), कुशल मल्ल (१०८) र दीपेन्द्रसिंह ऐरी (१०५) ले शतक बनाएका थिए ।
