बैतडी – बैतडीका चार स्थानीय तहले शुक्रबार सार्वजनिक बिदा दिएका छन्। दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिएका हुन्।
यी चारओटै पालिकामा रहेका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा लाग्ने जात्राको अवसरमा सार्वजनिक बिदा दिइएको हो।
सार्वजनिक बिदाका दिन पालिकाभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था, बैंक तथा बित्तीय संस्था लगायतमा बिदा रहने उल्लेख छ। मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाले बिहीबार पनि बिदा दिएका थिए।
दशरथचन्द नगरपालिकाले नगरपालिका-४ स्थित प्रसिद्ध जगन्नाथ मन्दिर, वडा नं. ११ सीमस्थित ग्वाल्लेक केदार मन्दिर र दनपा- १ सतपालीस्थित दानेश्वर नागार्जुन मन्दिरमा जात्रा लाग्ने भएकाले शुक्रबार सार्वजनिक बिदा दिएको हो।
यस्तै मेलौली नगरपालिकाले वडा नं.१ स्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लागेको जात्राको अवसरमा बिहीबार र शुक्रबार बिदा दिएको छ भने शिवनाथ गाउँपालिकाले वडा नं.४ स्थित प्रसिद्ध देहीगडा भगवती मन्दिरमा लागेको जात्राको अवसरमा बिदा दिएको हो ।
यस्तै सुर्नया गाउँपालिकाले वडा नं. ५ बरायलस्थित फाल्ङाशैनी भगवती मन्दिरमा लागेको जात्राको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको जनाएको छ।
