ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको असन्तुष्टि झेलेका कारण उनलाई पदबाट हटाइएको हो।
राज्यमन्त्री भएर पनि सरकारले नै गरेको निर्णयमा सार्वजनिकरूपमा बोलेको जथाभावी बोल्दै आएका तामाङसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत असन्तुष्ट थिए। राजीनामा दिन आग्रह गरे तापनि उनले अस्वीकार गरेपछि प्रधानमन्त्री ओलीले जिम्मेवारीबाट हटाएका हुन्।
यसअघि सरकारले बर्खास्त गरेका नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए । घिसिङसँग मिलेर आफूले डेडिकेटेड र ट्रंक लाइन विवादमा रहेका उद्योगहरुको लाइन काट्दै हिँड्ने उनले बताएका थिए । राज्यमन्त्री तामाङ र घिसिङ दुवै रामेछाप जिल्लाका हुन् ।
त्यतिमात्रै होइन, सिँचाइ विभागको कार्यक्रममा आफूसँग मञ्चमा नबसेको भन्दै उनले मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका थिए । जबकि, सचिवलाई स्पष्टीकरण सोध्ने अधिकार राज्यमन्त्रीलाई हुँदैन । मुख्यसचिवले मात्रै सचिवलाई स्पष्टीकरण सोध्नसक्ने व्यवस्था कानूनमा छ ।
तामाङले तत्कालीन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग मिलेमतो गरी ३ अर्ब २५ करोडको ठेक्का प्रक्रिया प्रभावित पारेको आरोप पनि लागेको छ। उनले प्राधिकरण अन्तर्गतको मोदी जलविद्युत निर्माणमा संलग्न हुने प्रयास गरेका थिए। तर घिसिङको बहिर्गमनसँगै उक्त प्रक्रिया टुंगो नलागी रोकिएको छ।
