काठमाडौं – सरकारले काठमाडौं उपत्यकासँग जोडिएको नागढुङ्गा सुरुङमार्ग यसपालिको दशैँमा सञ्चालनमा ल्याउने तयारी गरेको छ।
२.६ किलोमिटरको लामो सुरुङ २०७६ कात्तिकमा शिलान्यास भएको सुरुङमार्ग २०८२ को असोजसम्म सञ्चालनमा आउने देखिएको छ।
नागढुंगा नाका काठमाडौं प्रवेशको मुख्य सडक हो। धादिङको सिस्ने खोलादेखि चन्द्रागिरिको बलम्बुको सट्टा सुरुङमार्ग प्रयोग गर्दा सडक २.५ किलोमिटर छोटो हुन्छ।
सुरुङमार्गमा आवागमन गर्नुपर्दा सवारी साधनले दस्तुर तिर्नुपर्ने छ। एक पटकमा कम्तिमा ६० देखि ६ सय रुपैयाँसम्म लाग्नेछ । जसअनुसार बाहिरबाट काठमाडौं आउँदा कार तथा भ्यानले ६५ र जाँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
यस्तै मिनी बस र ट्रकले काठमाडौं आउँदा एक सय १५ र जाँदा ८०, बस र ट्रकले काठमाडौं आउँदा २ सय ६० र जाँदा दुई सय रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी भारी उपकरणहरु काठमाडौं आउँदा ६ सय र जाँदा दुई सय ५० रुपैयाँ तोकिएको छ ।
नागढुंगा सुरुङमार्ग जापानी सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण र नेपालको आफ्नै स्रोतमा निर्माण गरेको हो । सुरुङमार्ग निर्माणमा करिब २३ अर्ब रुपैयाँ खर्च हुँदैछ। जापानी निर्माण कम्पनी हाम्जा एन्ड कर्पोरेसनले ठेक्का पाएर निर्माण गरेको हो ।