काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा चेकजाँचमा कडाइ गरिएको छ ।
सरकारले लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं प्रवेश गर्नेहरुको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाव संकलन गरेको सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाइ गरेको हो । उपत्यका प्रवेश पास नभएका सवारी साधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको छ ।
यसअघि नाकासम्म एउटा सवारी सधानमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने उपत्यका पसेपछि अर्को गाडीमा आउने गरेका यात्रुहरुलाई पनि रोक लगाइएको छ । प्रहरीले आज पैदल हिडेर प्रवेश गर्न खोज्ने विना पासका यात्रुहरु सबैलाई फर्काएको छ ।
उपत्यका पस्ने भक्तपुरको साँगा नाकाबाट मास्क नलगाएका २५ जनालाई प्रहरीले आज कारवाही गरेको छ । साँगा नाकाबाट काठमाडौं प्रवेश गर्न खोज्ने पास विनाका गाडीहरुलाई पनि प्रहरीले फिर्ता पठाएको छ । मास्क नलगाई यात्रा गर्ने यात्रु र पैदल यात्रुहरु प्रहरी कारवाहीमा परेका छन् ।
