काठमाडौं – चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा तेस्रो जित निकालेको छ । दुबईमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय ६८ रनको विजयी लक्ष्यसहित ब्याटिङ गरेको हैदराबादले ८ विकेटको नोक्सानीमा १ सय ४७ रनमात्र बनाउन सक्यो ।
हैदराबादका लागि केन विलियम्सनले ५७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । चेन्नईका कर्ण शर्मा र ड्वाने ब्राभोले २–२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले ६ विकेटको नोक्सानीमा १ सय ६७ रन बनाएको थियो । चेन्नईका लागि शेन वाट्सनले सर्वाधिक ४२ रन बनाए । अम्बाती रायडुले ४१ रन जोड्दा साम करनले ३१ रन बनाए ।
कप्तान महेन्द्र सिंह धोनी २१ रनमा आउट भए । हैदराबादका सन्दीप शर्मा, खलिल अहमेद र टि नटराजनले २–२ विकेट लिए ।