काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही नेताहरु आफूलाई बदनाम गराउन सक्रिय रहेको आरोप लगाएका छन् ।
पूर्वसञ्चारमन्त्री समेत रहेका बस्नेतले एक सहकारी संस्थामा स्रोत नखुलेको आफ्नो ६१ करोड रुपैयाँ बचत रहेको झुटा समाचार सम्प्रेषण गर्न लगाउने काममा सत्तारुढ नेकपाकै नेताहरुको संलग्नता रहेको दावी गरे । उनले मिडिया काउन्सिल विधेयकविरुद्धमा आफू उभिएपछि सत्तारुढ दलकै केही नेताको संलग्नतामा आफ्नो सामाजिक तथा राजनीतिक प्रतिष्ठामाथि आँच आउने गरी त्यस्तो कपोलकल्पित समाचार सम्प्रेषण गराइएको जिकिर गरे ।
काठमाडौंको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा पूर्वमन्त्री बस्नेतको नाममा स्रोत नखुलेको ६१ करोड रुपैयाँ बचत रहेको र सो सम्बन्धमा अख्तियारले छानबिन प्रक्रिया अघि बढाएको समाचार केही समाचार माध्याममा आएको थियो । सोही समाचारको खण्डन गर्न शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका बस्नेतले सो सहकारीमा आफू र आफ्नो परिवारको सदस्यको कुनै पनि खाता नरहेको प्रष्टीकरण दिए ।
उनले उक्त सहकारी संस्थाको नाम आफूविरुद्धको सो समाचार आएपछि मात्रै थाहा पाएको उल्लेख गर्दै सो सहकारी संस्थाले पनि शुक्रबार विज्ञप्ति जारी गरेर मेरो नाममा कुनै पनि खाता नरहेको स्पष्ट पारेको पनि बताए । बस्नेतले आफूमाथि झुटा आरोप लगाइएको उल्लेख गर्दै त्यसको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे ।