काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको छ।
समारोहमा प्रधानमन्त्री पत्नी सबिना काफ्लेसहित नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, करिश्मा मानन्धर, दीपकराज गिरी र केकी अधिकारी लगायतको थुप्रै सहभागी भएका थिए। रेड कार्पेट समारोहमा विभिन्न देशका कलाकार तथा चलचित्रकर्मीहरूले सहभागिता जनाउँदै महोत्सवको आकर्षण बढाएका थिए।
महोत्सवमा नेपालसहित विभिन्न देशका फिल्मकर्मी, निर्देशक, कलाकार तथा चलचित्र क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ। भारतीय चर्चित अभिनेत्री शबाना आजमी, सांघाई फिल्म एकेडेमीका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी निर्देशक ताकायुकी नाकामुरा तथा भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हालगायत अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका व्यक्तित्वहरू महोत्सवमा सहभागी छन्।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न देशका चलचित्र प्रदर्शन, चलचित्रकर्मीबीच अनुभव आदानप्रदान तथा चलचित्र क्षेत्रसँग सम्बन्धित विविध गतिविधि सञ्चालन भइरहेका छन्।
युनेस्कोको ‘क्रिएटिभ सिटी अफ फिल्म’ को सदस्यता प्राप्त काठमाडौँमा पहिलोपटक आयोजना गरिएको यस महोत्सवले नेपाली चलचित्र, कला तथा संस्कृतिको प्रवर्द्धन गर्नुका साथै अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्र क्षेत्रको पहिचान विस्तार गर्ने अपेक्षा गरिएको छ।


