डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरामा कोरोना त्राससंगै कक्षा ११ को परीक्षा शुरु भएको छ । जिल्लाका केही बिद्यालयले सोमवार वाट परीक्षा शुरु गरेका हुन् । शैक्षिक सत्र २०७७ सालको नियमित तथा आंशिक तर्फको कक्षा ११ को परीक्षा केही बिद्यालयले शुरु गरेका छन् । अजयमेरु गाउँपालिका—१ मा रहेको बाल कल्याण मावि पूईलेकले सोमबारबाट परीक्षा शुरु गरेको छ ।
सरकारले यस बर्ष कोरोना महामारीका कारण बिद्यालयले जुनसुकै समयमा परीक्षा सञ्चालन गर्ने पाउने भनेकाले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई केही बिद्यालयले आज वाट परीक्षा शुरु गरेका छन् ।
कोरोनाबाट बच्न र बचाउनका लागि परीक्षा हलमा जानुअघि अनिवार्य स्वास्थ्य चेकजाँचका साथै स्वास्थ्य सुरक्षाका सामग्रीहरुको प्रयोग गर्न लगाइएको छ । परीक्षा बोर्डले डेढ घण्टाको मात्रै प्रश्नपत्र हुनेगरी कार्यतालिका प्रस्तुत गरेपछि परीक्षा दिन पुगेका विधार्थीलाई स्वास्थ्य सुरक्षाका सबै प्रक्रिया पुरा गरेपछि हलमा प्रवेश गराइएको छ ।
डडेल्धुरा जिल्लामा पनि कोरोना संक्रमण दर तिव्ररुपमा बढिरहेको भएपनि परीक्षा दिन पुगेका विधार्थीलाई मास्क, सेनिटाइजर, शरीरको तापक्रम जाँच गरेर परीक्षा दिन लगाइएको बालकल्याण माध्यमिक विद्यालय का प्रधानाध्यापक जगदिशसिंह भण्डारीले बताए । विधार्थी र शिक्षक सबैको स्वास्थ्य जाँच र सुरक्षा सामग्री प्रयोगपछि मात्रै परीक्षा शुरु गरिएको प्रअ भण्डारीले बताए ।
कोरोना भाईरसका कारण करिव सात महिना देखी विद्यालय बन्द अबस्थामा छन् । लामो समयसम्म नियमित विद्यालय जान नपाएका विधार्थी परीक्षा दिइरहेका छन् । नियमित पढाई भएको छैन् एकातिर कोरोनाको त्रास छ भने अर्कातिर नियमित पढ्न नपाई परीक्षा दिदा अन्यौल भएको विधार्थीहरुको भनाई छ ।
जिल्लामा ३२ वटा विद्यालयमा ११ र १२ को पढाइ हुनाका साथै सोही विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । सम्बन्धित विद्यालयले आफ्नो अनुकुलता अनुसार परीक्षा संचालन गरिएको शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका निमित्त प्रमुख नारद जोशीले बताए ।
केही विद्यालयमा सोमवार बाट परीक्षा शुरु भएका छन् भने कतिपय विद्यालयमा आजबाट शुरु हुने निप्रमुख जोशीले जानकारी दिए । शैक्षिक सत्रको कोर्ष पुरा नै नभई परीक्षा दिनुपर्दा विधार्थीमा अन्यौलता छायको हो । कोरोनाको महामारीको कारणले गर्दा विधार्थीको भविश्य के हुने भन्ने विषयमा अभिभावकलाई समेत चिन्ता बढेको छ ।