काठमाडौं – राष्ट्रपति भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरेकी छन्। बिहीबार राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष नरणवेणलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी हुन्।
समारोहमा नरवणेलाई खड्ग तथा सनद–पत्र प्रदान गरिएको थियो। सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र दुवै देशका वरिष्ठ अधिकारी सहभागी थिए।
विगत सात दशकदेखि दुवै देशका सेनाबीच एक अर्काको सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएकोमा सेनाध्यक्ष नरवणेलाई सो सम्मान प्रदान गरिएको हो।
गत जनवरीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथी पदवी प्रदान गरेका थिए।
