काठमाडौं – संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन् । बाइडेनले ह्वाइट हाउसमा पुग्न चाहिने २७० इलेक्टोरल कलेज भोटको आंकडा पार गरेका छन् । कुल ५३८ इलेक्टोरल मत मध्ये २७० इलेक्टोरल मत ल्याउने उम्मेद्वार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था अमेरिकामा रहेको छ । सोही व्यवस्था अनुरुप उनी निर्वाचित भएका छन् ।
सन् १९७२ मा डेलाबरबाट सिनेटमा निर्वाचित भएको ४८ वर्षपछि उनी ह्वाइटहाउस प्रवेश गरेका हुन् । ७७ वर्षीय बाइडेन यसअघि सन् १९८८ र २००८ गरी दुईपटक राष्ट्रपति निर्वाचनमा सहभागी भएका थिए । उनी पूर्वराष्ट्रपति बराक ओबामाको दुवै कार्यकालमा उपराष्ट्रपति रहेका थिए । अमेरिकामा हरेक चार चार बर्षको नोभेम्बरमा निर्वाचन हुने गर्दछ ।
त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० मा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहेको छ । अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिएको छ ।
