काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेका एक नेपाली फुटबलरलाई कोरोना संक्रमण पुष्टि भएको छ । दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली टोलीका एक खेलाडीलाई कोरोना संक्रमणको पुष्टि भएको हो ।
नेपाली टोली बंगलादेशको ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा एक खेलाडीको नतिजा पोजेटिभ आएको हो । गत बिहीबार बंगलादेशतर्फ लागेको नेपाली टोलीले त्यहाँ कोराना परीक्षण गरेको यो दोस्रोपटक हो ।
ढाका पुग्नेबित्तिकै गरेको परीक्षणमा सबै खेलाडीको नतिजा नेगेटिभ आएको थियो । तर, दोस्रो चरणको परीक्षणमा भने एक खेलाडीमा कोरोना संक्रमण देखिएको हो । एन्फा स्रोतका अनुसार कोरोना देखिएका खेलाडीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई अस्पतालमा आइसोलेसनका राखेको जनाएको छ ।
अब उनले मैत्रीपूर्ण खेल गुमाउनेछन् । यसअघि नेपालमा बन्द प्रशिक्षणमा रहँदा सात खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । फुटबल टोलीको प्रायः मुख्य खेलाडीमा कोरोना देखिएपछि नयाँ र युवा खेलाडीलाई बोक्दै नेपाली टोली बंगलादेश पुगेको थियो ।
फिफा विश्वकप छनोटको तयारीमा रहेको नेपालले बंगलादोशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । पहिलो खेल शुक्रबार हुनेछ भने दोस्रो खेल मंसिर २ गते हुनेछ ।
