भारतको पुणेमा सैनिक कलेजभित्र अवैध रुपमा बस्दै आएकी एक जना नेपाली महिला पक्राउ परेकी छन् । दापोदीस्थित कलेज अफ मिलिट्री इन्जिनियरिंग (सीएमई) परिसरमा बस्दै आएकी पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रहरीले नवलपरासीकी २६ वर्षीया एलिसा मनोज पाण्डे खड्कालाई पक्राउ गरेको जनाएको छ । भारतीय प्रहरीले कप्तान पदमा कार्यरत एक भारतीय सैनिक अधिकारीको भूमिका संकास्पद रहेकाले अनुसन्धान गरिरहेको छ । जसको क्वार्टरमा महिला विगत केही महिनादेखि बसिरहेकी थिइन् ।
एफआईआरका अनुसार खड्काविरुद्ध भवानी पेठेका इमरान अब्दुल कादिर हजवानीबाट उजुरी आएको थियो । हाजवानीले आरोपीले उनलाई संयुक्त अरब एमिरेट्सको व्यवसायमा साझेदार बनाउने झूटो आश्वासन दिएर ८५ लाख रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् । प्रारम्भिक अनुसन्धानले खड्का सीएमई परिसरमै बस्ने गरेको कुरा पत्ता लगाएको थियो ।
पिम्परी चिञ्च्वाड प्रहरीले सीएमई अधिकारीहरूसँग सम्पर्क गरेर अनुसन्धानमा उनीहरूको सहयोग मागेको थियो । प्रहरीलाई सहयोग गर्न एक सीएमई टोली गठन गरिएको थियो । उनीहरूले सेनाको क्याप्टेनको आवासीय क्वार्टरमा खड्कालाई फेला पारेको थियो ।
पक्राउ परेकी महिला मार्च २३ को राती ११ बजे फुगेवाडी क्षेत्रमा पर्खालबाट हामफालेर सीएमई परिसरभित्र पसेकी थिइन र उनले त्यसबेलादेखि सेना क्याप्टेनको क्वार्टरमा बसिरहेकी थिइन् ।
ती क्याप्टेनले खड्काले किन क्वार्टरभित्र छिरेकी हुन् र उनी सीएमई परिसरमै बस्छिन् भन्ने प्रश्नको जवाफ दिएका छैनन् । ‘यस्तो किसिमको गतिविधिले सेनाका अधिकारी र सेनाको भविष्यलाई नै खतरा हुन्छ’, स्रोतले भन्यो ।
ति महिलाले सेनाका क्याप्टेनलाई केही महिनाअघि नै पार्कमा भेट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यो मुद्धामा सेनाले क्याप्टेनको भूमिकाबारे पनि अनुसन्धान गरिरहेको छ ।
‘हामीले नेपाली महिलालाई पक्राउ गरेका छौं । उनलाई मंगलबार अदालतमा हाजिर गरिएको थियो । अदालतले उनलाई नोभेम्बर १२ सम्म प्रहरी हिरासतमा राख्न आदेश दिएको छ । भारतीय सेनाको क्याप्टेनलाई पनि यस मुद्दामा अभियुक्तको रूपमा नामित गरिएको छ । हामीले उनलाई सोध्न सेनाका अधिकारीहरुबाट अनुमति लिइसकेका छौं,’ वरिष्ठ प्रहरी निरीक्षक शंकट अवताडेले भने ।