डम्बर निदाल
डडेल्धुरा – दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका खोड्पेमा गएराति बस दुर्घटनामा परी मृत्यु भएका ९ जनाकै सनाखत भएको छ । उक्त दुर्घटना परी मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–६ सित्तडका २५ बर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार–६ सित्तडकै २७ वर्षीय करनसिंह ऐडी, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र प्रसाद जोशी, कञ्चनपुरको भिमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की र दार्चुलाको लेकम गाउँपालिका–४ का तर्कराज गिरी छन् ।
त्यसै गरी दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ का जगन्नाथ ओझा, कञ्चनपुरको भिमदत्त नगरपालिका–१० विजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका–४ का नरेन्द्र चौधरी, धनगढी उपमहानगरपालिका–१८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकमध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भने अन्य ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना५ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर बैतडीको खोड्पेमा दुर्घटनामा परेको थियोे ।
सानो घुम्तीबाट बस ६ सयमिटर जति तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । साहुसमेत रहेका चालक बैतडीको दोगडाकेदार ७ खोचलेकका वीरेन्द्र कार्कीसमेत घाइते छन् । क्षमताभन्दा बढी यात्रु बोकेको र बसका चालक निदाएकोले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । दुर्घटनामा परेको बस पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाएको छ ।
