काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आगामी बैठकको एजेण्डा तय गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सकिएको छ। बालुवाटारमा बसेको सचिवालय बैठकले मंसिर ३ गते अर्को बैठक बस्ने गरी एजेण्डा तय गरेको हो।
आगामी बैठकमा पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामलामा देखिएको समस्यामा छलफल हुने एजेण्डा तय भएको छ।
बैठकमा पार्टीभित्र उत्पन्न संकटलाई सूचीबद्द ढंगले कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठकाअनुसार बैठकमा कर्णाली प्रदेश लगायतका सांगठानिक संरचनाभित्र देखिएको समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको छ । बैठकमा विशेषगरी पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत ५ जनालाई लेख्नुभएको पत्र, कार्यकारी अध्यक्ष प्रचण्डसहित ५ नेताले ओलीलाई लेख्नुभएको पत्र र अन्तरपार्टी निर्देशिका केही दिन अध्ययन गर्नका लागि सचिवालय सदस्यहरुलाई बाँडिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।