काठमाडौं – दोस्रो बजार चार वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ। नेप्से सूचक सुधार हुने क्रममा बिहीबार नेप्सेको इतिहासमै सबैभन्दा बढी कारोबार भएको छ। ३६.३२ अंकले सुधार भएको सेयर बजारमा ६ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको हो। दुई महिना अगाडि पौने ५ अर्बको कारोबार भएको थियो। पछिल्लो समय भइरहेको सुधारले कारोबार रकम बढिरहेको हो।
बिहीबार केही कम्पनीको मूल्यमा उछाल आउँदा समग्र कारोबार नै बढेको हो। दोस्रो बजारमा सबैभन्दा महँगो युनिलिभरको १४४० कित्ता कारोबार भएको छ। युनिलिभरको मात्रै २ करोड ८६ लाख कित्ता कारोबार भयो। त्यस्तै पछिल्लो समय उछाल आएका साल्ट ट्रेडिङ, विशाल बजार, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, बोटलर्स नेपाल जस्ता कम्पनीका कारण कारोबार रकम बढी भएको हो। अधिकतम कारोबार हुनेमा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स रहेका छन्।
नेपाल पुनर्बीमाको मात्रै ४१ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ। थोरै सेयर पुँजी भएका तथा वित्तीय अनुशासन पालना नगर्ने कम्पनीको मूल्यमा उछाल आउदा दोस्रो बजार सुधार भैरहेको छ।
