काठमाडौं – क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ७५० औँ गोल गर्दा युभेन्टसले डाइनामो किएभमाथि ३–० को सहज जीत हासिल गरेको छ ।
रोनाल्डोले आफ्नो करियरमा रियलका लागि ४५०, म्यानचेस्टर युनाइटेडका लागि ११८, पोर्चुगलका लागि १०२, युभेन्टसका लागि ७५ र स्पोर्टिङ लिस्बनका लागि ५ गोल गरेका छन् । बुधबार राति भएको खेलमा युभेन्ट्ले डाइनामो क्युभ माथि ३–० गोलको जित निकालेको हो ।
घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन फ्रेड्रिको चिइसा, क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक–एक गोल गरे । खेलको २१ औं मिनेटमा चिइसाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए ।
पहिलो हाफमा एक गोल गरेको युभेन्ट्सले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको थियो । ५७ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।
६६ औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई ३–० गोलको जित दिलाए । जितसँगै युभेन्ट्सले लिगमा पाँच खेलबाट १२ अंक जोडेको छ । पराजित डाइनामोको एक अंक छ ।
