काठमाडौँ – प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश लुम्बिनी प्रदेशसँग ६ विकेटले पराजित भएको छ ।
मूलपानी मैदानमा लुम्बिनी प्रदेशसँग ६ विकेटले पराजित भएको सुदूरपश्चिम बाहिरिएको हो । तीन खेलबाट दोस्रो जित निकालेको लुम्बिनीले अघिल्लो चरणको यात्रालाई जिवन्त राख्दा हारेको सुदूरपश्चिमले लगातारका तीन खेलमा पराजय भोग्दै जारी प्रतियोगिताबाट बाहिरिएको छ । सुदूरपश्चिमको एक खेल भने अझै बाँकी छ ।
सहज जित निकालेको लुम्बिनीले सुदूरपश्चिमले प्रस्तुत गरेको ६३ रनको लक्ष्य १४.४ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । लुम्बिनीको जितमा सौरभ खनालले अविजित १८ रन जोड्दा प्रकाश केसीले पनि नटआउट १७ रन जोडे । कप्तान कृष्ण कार्कीले १५ रनको योगदान गर्दा ओपनर देव खनाल ९ रनमा पवेलियन फर्किएका थिए । सुदूरपश्चिमका शेर मल्लले २ विकेट लिए । विनोद लामाको नाममा एक विकेट रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २७.४ ओभरमा सबै विकेटले गुमाएर मात्र ६२ रन जोड्न सक्यो । यस्तै, नारायण जोशीले सर्वाधिक १७ रन जोड्दा कप्तान सन्तोष भट्टले ११ रनको योगदान गरे । तीन खेलाडी शून्यमा पवेलियन फर्किँदा केही ब्याट्स १० भित्र समेटिएको थियो । सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका कृष्ण कार्कीले ४ विकेट लिए । अनिल खरेल र विक्रम भुसालले २/२ विकेट लिए । जितसँगै समूह ‘बी’ को लुम्बिनीले ३ खेलमा ४ अंक जोडेको छ ।
