काठमाडौँ – नेपालले कतारसँग हुने तीन ट्वान्टी–२० क्रिकेटका लागि टोलीमा व्यापक परिवर्तनसहित खेलाडी छनोट गरेको छ । नियमित कप्तान ज्ञानेन्द्र मल्लसहित पूर्वकप्तान पारस खड्का, सन्दीप लामिछाने, सुसन भारी र ललितनारायण राजवंशीबिनै कतार जाने टोली घोषणा गरिएको छ ।
कतार दिवसको अवसरमा नेपाललाई कतारले तीन ट्वान्टी–२० खेल्न निम्तो दिएको थियो । त्यसअनुरूप नेपाल र कतारबीच फेब्रुअरी ९, १० र १२ मा ट्वान्टी–२० खेलको शृंखला हुँदै छ । एकदिवसीयबाहिर रहेका धेरै खेलाडीलाई नेपालको १८ सदस्यीय टोलीमा समावेश गरिएको छ ।
कतार जाने टोलीको बन्द प्रशिक्षणलाई विनोद भण्डारी, लोकेश बम, सन्दीप जोरा, कमलसिंह ऐरी, आशिफ शेख, अविनाश बोहरा, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, पवन सर्राफ, विवेक यादव, कृष्ण कार्की, सौरभ खनाल, सोमपाल कामी, भुवन कार्की, करण केसी, कुशल मल्ल र शाहब आलम छानिएका छन् । क्यानले आधिकारिक घोषणा नगरे पनि दीपेन्द्रले कतारमा नेपाली टोलीको नेतृत्व गर्ने जनाइएको छ ।
वसन्त रेग्मी र शरद भेषावकरलाई पनि कतार जाने टोलीमा राखिएको छैन । दुवै पछिल्लो वर्षयता नेपालको ट्वान्टी–२० टोलीमा रहेका छैनन् । नेपालले अर्को महिना ओमान गएर क्रिकेट विश्वकप लिग २ खेल्दै छ । एकदिवसीय अन्तर्राष्ट्रियको प्रमुख प्रतियोगिता खेल्न लागेकाले त्यसैमा केन्द्रित गरेर टिम छनोट गरिएको प्रमुख छनोटकर्ता उत्तम कर्माचार्यले बताए । उनका अनुसार कतार जाने टोलीको बन्द प्रशिक्षण सोमबार र लगत्तै एकदिवसीय टोलीको प्रशिक्षण सुरु हुनेछ ।
स्रोतका अनुसार हालै नियुक्त अस्ट्रेलियन प्रशिक्षक डेव ह्वाटमोर पनि कतार जाने छैनन्।
