काठमाडौं – अस्ट्रेलियन बिग ब्यास लिग क्रिकेटको दशौं संस्करणको उपाधि सिड्नी सिक्सर्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा पर्थ स्कोर्चर्सलाई २७ रनले हराउँदै सिड्नीले उपाधि जितेको हो ।
जीतका लागि १८९ रनको लक्ष्य पछ्याएको पर्थले पूरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १६१ रन मात्र बनाउन सक्यो । पर्थका लागि लियाम लिभिङस्टोनले ४५, क्यामरन बेनक्रफ्टले ३०, आरोन हार्डीले २६, जोश इङ्लिसले २२ रन बनाएपनि जीतका लागि पर्याप्त हुन सकेन । पर्थलाई रोक्न सिड्नीका बेन ड्वार्सुइसले ३ तथा ड्यानियल क्रिस्चियन, ज्याक्सन बर्ड र सन एबटले २-२ विकेट लिए ।
त्यसअघि सिड्नी क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाएको थियो । उसका लागि ओपनर जेम्स भिन्सले ९५ रन बनाए भने ड्यानियल क्रिस्चियनले २०, कप्तान मोइसेस हेनरिक्सले १८ र जोर्डन सिल्कले अविजित रहँदै १७ रनको योगदान दिए ।
पर्थका जाय रिचार्डसन र एन्ड्रयु टाइले २-२ विकेट लिए भने फावद अहमदले १ विकेट हात पारेका थिए ।
