काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि तीन देशीय फुटबल प्रतियोगिता हुँदै छ । नेपालसहित किर्गिस्तान र बंगलादेश सम्मिलित प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फाले बताएको छ ।
आज साँझ साढे ५ बजे युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङले उक्त खेलको उद्घाटन गर्ने कार्यक्रम रहेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । कोरोना महामारी संक्रमणको खतरा देखिएकोले प्रतियोगिता अवधिभर स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी व्यवस्था अनुसार तापक्रम नाप्ने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने र मास्क अनिवार्य प्रयोग गर्ने व्यवस्था गरिएको राईले बताए ।
प्रतियोगिता चैत्र १६ गतेसम्म चल्नेछ । प्रतियोगिताका लागि किर्गिस्तान र बंगलादेशका फुटबल टोली नेपाल आइसकेका छन् ।
प्रतियोगिता जित्ने टोलीले ५ हजार अमेरिकी डलर र दोस्रो स्थानमा आउनेले ३ हजार डलर पाउनेछ । मोस्ट भ्यालुएबल प्लेयरलाई ५ सय डलर र म्यान अफ द म्याचलाई २५० अमेरिकी डलर पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा बगंलादेश र किर्गिस्तान खेल्नेछन् दोस्रो खेलमा २५ मार्चमा किर्गिस्तानले नेपालसँग खेल्नेछ । तेस्रो खेलमा २७ मार्चमा नेपालले बगंलादेशसँग खेल्नेछ । मार्च २९ मा फाइनल खेल हुनेछ ।
नेपाली राष्ट्रिय फुटबल टोलीले २०१५ पछि दशरथ रगंशालामा कुनै खेल खेल्न पाएको छैन ।
