काठमाडौँ– थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ । घरेलु मैदानमा दर्शको साथ पाएको नेपालले फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको फाइनल खेलको पहिलो हाफमा नेपालले बंगलादेशविरुद्ध २-० गोल अन्तरको अग्रता लिएको थियो ।
खेलको १८ औँ मिनेटमा संजोग राई र ४१ औँ मिनेटमा विशाल राईले गोल गर्दै नेपालले २-० गोल अन्तरको अग्रता दिलाएका थिए ।
खेल हेर्न प्रधानमन्त्री केपी ओली, कलाकार र फुटबल प्रेमी नेपालीको उपस्थिति उल्लेख्य रहेको थियो । नेपाली खेलाडीले पहिलो गोल गर्दा नै प्रधानमन्त्री लगयत दर्शकहरु निकै उत्साहित बनेका थिए ।
शुरुवाती ११ मा नेपाली खेलाडीका तर्फबाट गोलरक्षकमा किरणकुमार चेम्जोङ, डिफेन्डरमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी मैदानमा उत्रिएका थिए ।
त्यसैगरी मिडफिल्डरमा त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोग राई, विशाल राई, सुनील बल थिए भने भने फर्वार्डमा अन्जन विष्ट थिए ।
प्रतियोगितामा नेपालका लागि सुरुवाती गोल गरेका संजोग राई म्यान अफ दि म्याच बनेका छन् । उनले २५० अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै मस्ट भ्यालुएबल खेलाडिको उपाधीको रोहित चन्दले पाएका छन्। उनले ५०० डलर पुरस्कार प्राप्त गरेका छन।
