काठमाडौँ — चैत वैशाखलाई खर्बुजाको मौसम भनेर पनि चिनिन्छ । स्वादिलो र रसिलो फलफूल हो खर्बुजा । यसमा कम क्यालोरी हुन्छ तर भिटामिनले भने भरपुर छ । यसका स्वास्थ्यमा हुने फाइदाहरु यस प्रकार छन् ।
१) शरीरलाई हाइड्रेट राख्न
खर्बुजामा ९२ प्रतिशत पानी हुन्छ जसकारण यसलाई खानाले शरीरमा पानीको मात्रा पूर्ति गर्न मद्दत पुग्छ । पानीको मात्रा बढी हुनाले छिटै अघाइन्छ त्यसैले डाइटिङ्ग गर्नेको लागि पनि खर्बुजा उत्तम खानकी हो ।
२) क्यान्सरबाट बच्न
खर्बुजामा पाइने लाइकोपेन नामक तत्वले पाचन प्रणालीमा हुन सक्ने क्यान्सको जोखिमलाई न्यूनिकरण गर्न मद्दत गर्छ । साथै ककरबिटासिन इ नामक तत्वले भने टुमरलाई बढ्न नदिएर क्यान्सरलाई नियन्त्रण गर्नमा सहयोग गर्छ ।
३) उच्च रक्तचाप नियन्त्रण गर्न
खर्बुजामा पाइने सिटुलिनले शरीरमा नाइट्रिक अक्साइडको मात्रा बढाउन सहयोग गर्छ । नाइट्रिक अक्साइडले नसालाई तन्काउन मद्दत गर्छ जसकारण उच्च रक्तचाप नियन्ण गर्न मद्दत पुग्छ ।
४) जलन कम गर्न
खर्बुजामा उच्च मात्रामा पाइने लाइकोपेन र भिटामिन सीले जलन कम गर्न मद्दत गर्छ । साथै एक खोजमा लाइकोपेनले अल्जाइमर रोगलाई नियन्त्रण गर्न भूमिका खेलेको पाइएको छ ।
५) स्वास्थ्य छाला र कपालको लागि
खर्बुजामा पाइने भिटामिन ए र सी छाला र कपालको स्वास्थ्यको लागि निकै महत्वपूर्ण हुन्छ । भिटामिन एले सुख्खा छालालाई रिपेयर गर्न मद्दत गर्छ । साथै भिटामिन सीले बनाउने कोलाजेन नामक प्रोटिनले छालालाई नरम र कपाललाई मजबुत बनाउन सहयोग गर्छ ।
६) पाचन प्रणालीमा सुधार ल्याउन
उच्च मात्रामा पानी र फाइबर भएको फलपूmल तथा तरकारीले पाचन प्रणालीमा सुधार ल्याउन मद्दत गर्छ । खर्बुजामा पानी र फाइबर दुबै पाइने हुनाले यसले पाचन प्रक्रियामा मद्दत गर्छ ।
