काठमाडौं – कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिज अन्तर्गत मलेसियाविरुद्धको खेलमा सहज जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले हराएको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेटको क्षतिमा ११३ रन बनायो ।
नेपालका लागि कुशलले ६१ रनको अर्धशतकीय पारी खेले । ४१ बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरेका थिए । आसिफ शेखले ४२ रन बनाए । उनले २९ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । आसिफले कुशल भुर्तेलसँग १०२ रनको साझेदारी गरेका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १०९ रन बनायो ।
जितसँगै नेपालले सिरिजमा २ खेलबाट ४ अंक जोडेको छ । नेपालले सिरिज अन्तर्गत भोली (मंगलबार) नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ ।
