काठमाडौं – नेपालले त्रिकोणात्मक टि-२० सिरिजको उपाधि जितेको छ । आज शनिवार भएको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको विशाल अन्तरले पराजित गर्दै सानदार जितको साथ च्याम्पियन बनेको छ ।

नेपालले घरेलु मैदान टियुमा ११ वर्षपछि उपाधि जितेको हो । जितको लागि २ सय ३९ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १७.२ ओभरमा ९६ रनमा अल आउट भयो । नेदरल्यान्ड्सका सेबास्टियन ब्राट २६, ओपनर म्याक्स ओडाउडले सर्वाधिक २० र कप्तान पिटर शिलार १३ रन बनाए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । करण केसीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरीले २ र अभिनाश बोहराले १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । नेपालले यो टि-२० आई इतिहासमै बनाएको सर्वाधिक ठूलो योगफल हो । पहिलो पटक सन् २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद सागमा भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो ।

कुशल मल्ल २४ बलमा २ चौका र ५ छक्का सहित ५० रनमा अविजित रहे । दीपेन्द्रसिंह ऐरी १८ बलमा ५ चौका र ३ छक्का सहित ४८ रनमा अविजित रहे ।

नेपालका ओपनर कुशल भुर्तेलले ५३ बलमा ८ चौका र ३ छक्का सहित सर्वाधिक ७७ रनको योगदान दिए । जारी सिरिजमा कुशलको यो चौथो अर्धशतक हो । आसिफले ८ बलमा २ छक्का र १ चौका सहित १६ रन बनाए । ज्ञानेन्द्र १९ बलमा ३ चौका र २ छक्का सहित ३३ रनमा आउट भए ।

नेदरल्यान्ड्सका फिलिपे बोइससेवेनले २ विकेट लिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here