एभरेस्ट प्रिमियर लिग (ईपीएल) २०२१ को उपाधिका लागि आज (शनिबार) पोखरा राइनोज र चितवन टाइगर्स भिड्दै छन्।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ। दुवै टोली पहिलोपटक ईपीएलको फाइनलमा पुगेका हुन्।
सोमपाल कामी कप्तान रहेको चितवनले पहिलो क्वालिफायरमा पोखरालाई नै हराउँदै फाइनल पुग्न सफल भएकाे हो भने विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियटर्सलाई जित्दै फाइनलमा पुगेको हो।
यसअघि चितवन लिगमा ५ खेलमा जित र १ हारसहित शीर्ष स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । पहिलो क्वालिफायरमा चितवनले पोखरालाई ९ विकेटले पराजित गरेको थियो । लिगमा पनि चितवनले पोखरालाई ९ विकेटले नै पराजित गरेको थियो ।
पोखरा ५ खेलमा ३ जित र १ मा हार र एक खेलमा अंक बाँडदै ७ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । पोखराले भैरहवा ग्ल्याडियटर्सलाई क्वालिफायरमा ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
यसअघि बिहीबार भएको प्रि म्याच फाइनल पत्रकार सम्मेलनमा दुबै टोलीका कप्तानले उपाधि आफ्नो टोलीले जित्ने दाबी गरेका थिए ।
दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रिनेछन्। विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन्।