साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलोपटक फाइनलमा पुगेर इतिहास रचेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार स्वदेश फर्किएको छ। टोली आज बिहान हवाईजहाजबाट त्रिभुवन विमानस्थलमा ओर्लेको हो।
नेपाली टिम बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको थियो । नेपाली टोलीलाई खेलकुदमन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपदाधिकारीलगायतले भव्य स्वागत गरे ।
साफको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको हो। तर फाइनलमा भारतसँग ३–० ले हारेपछि उपाधिको इतिहास रच्न नेपाल असफल भयो।
साफ च्याम्पियनसिपका लागि नेपाली टोली गत भदौ २५ गते कतार गएको थियो। कतारमा मैत्रीपूर्ण खेल र अभ्यासपछि टोली असोज ११ गते मालदिभ्स पुगेको थियो।
साफ च्याम्पियनसिपमा नेपालले पहिलोपटक लगातार दुई खेल जितेको थियो। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो।
तेस्रो खेलमा भने भारतसँगै १–० ले हारेको नेपाली टोलीले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै पहिलोपटक साफको फाइनलमा पुगेको थियो।
अहिले स्वदेश फर्किएकाे फुटबल टोलीमा मुख्य प्रशिक्षक अब्ब्दुल्लाह अलमुताइरी र रोहित चन्द भने छैनन्। मुख्य प्रशिक्षक अलमुताईरीले बगंलादेशसँगको खेलपछि नै नेपाल नर्फिकने भन्दै राजीनामा दिएका थिए भने इन्डोनेसियामा व्यावसायिक लिग खेलिरहेका रोहित उतैबाट जकार्ता गएका हुन्।
तर साफको फाइनलपछि अलमुताईरीले आफूलाई केही समयको विश्राम चाहिएको भन्दै पछि मात्रै यस विषयमा निर्णय लिने बताएका छन्।
