लामो समयसम्म घट्दो क्रममा रहेको नेप्से पुन: उकालो लाग्न थालेको छ । गत हप्ताको मंगलबारदेखि उकालो लाग्ने थालेको सेयर बजार परिसूचक नेप्से यस साताको पहिलो दिन अर्थात् आज आइतबार मात्र ७१ अंकमाथिले वृद्धि भएको हो ।
सेयरबजारमा आज ७१.२० अंकको उछाल आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से बढेर २५९१.४२ विन्दुमा पुगेको छ भने सेन्सिटिभ ५.३८ अंकले बढेको छ।
आज हाइड्रोपावर र फाइनान्स समूहको उपसूचकबाहेक अन्य सबै उपसूचकहरु धनात्मक भएका छन् भने ७१ अंक माथिले नेप्से वृद्धि भएको बजारमा आज ५ अर्ब १७ करोड ३२ लाखको कारोबार भएको छ ।
साताको पहिलो दिनको कारोबारमा २ सय ३१ कम्पनी सामेल भएका छन्। ती कम्पनीको ८६ लाख कित्ता सेयर बिक्री भएको हो।
दिनभरिमा ६२ हजार २१ पटकको खरिदबिक्रीपछि ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ।
योसँगै बजार पुँजीकरण ३६ खर्ब र बजारमा १२ खर्बको तरलता रहेको नेप्सेले जनाएको छ। आज जलविद्युत्, फाइनान्सको सूचक घटे पनि बाँकी समूहको सूचक बढेका छन्।
आइतबार झण्डै ३० कम्पनीको सेयर मूल्य १० प्रतिशत वा सोही हाराहारीमा बढेको नेप्सेले जनाएको छ। लगानीकर्ताले आज ५.५७ प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन् भने ३२ करोड रुपैयाँसम्मको अधिकतम कारोबार भएको छ।
