आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको हो ।
त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला रु पाँचले बढेको छ । महासङ्घका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला रु ९२ हजारमा कारोबार भएको छ । तेजावी सुन तोलाको रु ९१ हजार ५०० पुगेको छ । चाँदी प्रतितोला रु एक हजार २३५ पुगेको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय भाउ अनुसार हरेक दिन सुनचाँदीको भाउ निर्धारण गर्ने गरेको छ ।
नेपालमा सुनचाँदी व्यवसायी संघले सुनको मूल्य निर्धारण गर्छ । र, सोही अनुसार बजारमा कारोबार हुन्छ । सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपालमा सुनको मूल्य निर्धारणका लागि पहिले न्यूयोर्क एक्चेञ्ज अर्थात अन्तर्राष्ट्रिय बजारको कारोबार दरलाई आधार लिइन्छ ।
उनका अनुसार मूल्य निर्धारण गर्नुअघि नेपालको समयअनुसार बिहान १० बजे संघमा न्युयोर्क मार्केटको बजार मूल्य आइसकेको हुन्छ । साथै भारत र दुबईको मूल्य प्रवृत्तिलाई पनि आधार मानेर मूल्य निर्धारण गर्दछ ।
त्यसैगरी, नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अर्थात् डलरको मूल्यको आधारमा निर्धारण हुन्छ । सुनको मुख्य मूल्य आधार भनेको नै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य र राष्ट्र बैंकको विनिमय दर रहेको शाक्यले बताए ।
यसका साथै अन्य खर्चमा भन्सार, ह्यान्डलिङ शुल्क र मुनाफा जोडिन्छ । जसमा मुनाफा ०.५ प्रतिशत आयातकर्ता बैंकले र ०.५ प्रतिशत सुनचाँदी व्यवसायीले राख्ने गरेको शाक्यको भनाइ छ । यसरी कायम हुन आएको सुनको मूल्य नै सो दिनको कारोबारका लागि निर्धारण गरिन्छ ।
