काठमाडौं – राजस्व अनुसन्धान विभागले विद्यार्थी राजनीतिमा संलग्न कैलालीको लम्कीचुवा स्थायी घर भई कालोपुल बस्ने दिनेश खड्काविरुद्ध ३७ करोड ६४ लाख बिगो दाबीसहित मुद्धा दायर गरेको छ । उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।
कुनै व्यवसाय नगरी करोडौंको रकम कारोबार गर्ने खड्का विद्यार्थी राजनीतिमा संलग्न थिए। उनी राजधानीको पशुपति क्याम्पसमा विद्यार्थी राजनीति गर्दै आएका थिए। उनी नेकपा एमाले समर्थित त्यो पनि केपी शर्मा ओलीको खास मान्छे भएको उनको सामाजिक संजालमा पोष्ट भएका स्टाटसहरुले पुष्टि गर्छ ।
खड्काले ग्लोबल आइएमई बैंकबाट ९ करोड ७९ लाख रुपैयाँ कारोबार गरेको अनुसन्धानका क्रममा भेटिएको छ। खड्काले आफ्नी दिदी भगवती खड्काको एनआइसी एसिया बैंकमा रहेको खाताबाट २० करोड ४२ लाख र उनकी साथी अनिता धितालको लक्ष्मी बैंकबाट ५ करोड ७७ लाख कारोबार गरेको अनुसन्धानका क्रममा भेटिएको विभागले जनाएको छ।

उनका बुवा नरबहादुर खड्काको ग्लोबल आइएमई बैंकबाट १ करोड ६४ लाख रुपैयाँपनि कारोबार भएको भेटिएको छ। केही समयअघि उनको बुबा नरबहादुर खड्कालाई बधाई दिँदै उनले स्टाटस लेखेका थिए ।
राष्ट्र बैंकको वित्तीय जानकारी एकाइसँगै विभागले इन्टिलिजेन्समार्फत खड्कालाई पक्राउगरी अनुसन्धान गरेको थियो। विभागले उनीहरुको बयान, बैंकका स्टेटमेन्ट, बरामद गरेको मोबाइलमा प्राप्त मिसिलसंलग्न डाटालगायत कल डिटेल बिवरणका आधारमा सामूहिकरुपमा मिलिमतो गरी मोबाइल एप्स इस्क्रिल बिनान्स प्रयोगगरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कसुर गरेको अनुसन्धानमा फेला परेको विभागले जनाएको छ।
डलरको अनलाइनमार्फत अवैधरुपमा कारोबार गरेको कसुरजन्य कार्यमा संलग्न भई उक्त एपमार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही गरेको अनुसन्धानमा खुलेको छ। खड्काबाट विगो जफतगरी तीन वर्षसम्म कैद सजाय माग गरिएको छ।
विभागको अनुसन्धानमा खड्काले करिब २ सय ५० जनाको नेटवर्क बनाएर विदेशबाट रकम ल्याउने र विविध प्रयोजनमा प्रयोग गर्ने गरेको खुलेको छ। उनले मोबाइल भुक्तानी प्लाटफर्म (वालेट) इ-स्क्रिल र क्रिप्टोकरेन्सी (अभौतिक/विद्युतीय मुद्रा) कारोबार प्लाटफर्म ‘बिनान्स’ मार्फत कारोबार गर्ने गरेको विभागको अनुसन्धानबाट फेला परेको छ। क्रिप्टोकरेन्सी कारोबार नेपालमा प्रतिबन्धित छ।

बजारमा डलर अभाव भएपछि खड्काले राष्ट्र बैंकले तोकेको भन्दा बढी मूल्य लिएर डलर सटही गर्दै आएको समेत भेटिएको छ। यसरी आएको रकमलाई व्यावस्थापन गर्न खड्काले अर्कै व्यक्तिको नामको बैंक खाता चलाउँदै आएका थिए। पछिल्लो समय देशभित्र भित्रिने रेमिटेन्स विदेशमै बिटक्वाइन, इथर्नम, लाइटक्वाइन लगायतका क्रिप्टोकरेन्सीमा लगानी भइरहेको अनुमान सरकारले गरिरहेको छ। यसै क्रममा खड्काले बिनान्सको प्रयोग गरी इ-स्क्रिलबाट रकम भित्र्याएको फेला परेको हो।
खड्काको मोबाइल र अन्य प्राविधिक गतिविधि हेर्दा उनी देशमा अवैध भनिएको क्रिप्टोकरेन्सी र विद्युतीय सट्टेबाजी(इ-बेटिङ) प्लाटफर्म ‘वान एक्सबेट’ समेतमा संलग्न देखिएको विभागका अधिकारीहरुको भनाइ छ।
उनले क्रिप्टोकरेन्सीमा केही वर्षअघि लगानी गरेका थिए। स्रोतका अनुसार अन्तर्राष्ट्रिय बजारमा क्रिप्टोकरेन्सीको भाउमा उछाल आएसँगै उनले त्यसको बिक्रीबाट कुस्त आम्दानी गरेका थिए। सो रकम मोबाइल वालेट इ-स्क्रिलमार्फत नेपाल भित्र्याएका थिए। यसलाई विभागले ‘डलरको अवैध’ कारोबार मानेको हो।
क्रिप्टोकरेन्सी एक प्रकारको भर्चुअल करेन्सी (अभौतिक मुद्रा) हो। यसमा लगानी गर्न नेपालमा सरकारले अनुमति दिएको छैन। संसारका कयौं देशमा भने क्रिप्टो करेन्सी वैधानिक रूपमा कारोबार हुन्छ। तर छिमेकी मुलुका भारतमा समेत यो प्रतिबन्धित छ।
नेपाल राष्ट्र बैंकले क्रिप्टो करेन्सीको कारोबार वा माइनिङ गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिइसकेको छ। राष्ट्र बैंकले क्रिप्टो करेन्सीहरुको कारोबार, प्रयोग र माइनिङ गैरकानुनी भनेको छ।यसका बाबजुद पछिल्लो समय क्रिप्टो करेन्सीको कारोबारहरु बढ्दै गएको र यसमा संलग्नता बढाउन क्रिप्टो तथा इ-बेटिङ कारोबारमा संलग्नहरुले नेपालीलाई प्रोत्साहित गर्न थालेको घटना बढेको छ।
