काठमाडौं – सुनको मूल्य फेरि उकालोतर्फ लाग्न थालेको छ । लगातार चार दिनसम्म घटेको सुनको मूल्य फेरि बढ्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि, माघ १३ गतेदेखि सुनको मूल्य ओरालो लाग्न थालेको थियो । माघ १२ गते प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य १३ गते घटेर ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसपछि माघ १४ गते तोलामा ९२ हजार ६०० र १५ गते पनि घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता, माघ १६ गतेदेखि निरन्तर उकालो लाग्दै आज तेजाबी सुनको प्रतितोला मूल्य ९२ हजार ७०० रुपैयाँ पुगेको छ ।
यस्तै,आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । हिजो बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० र तेजाबी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको कारोबार मूल्य स्थिर छ । हिजो तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय भाउ अनुसार हरेक दिन सुनचाँदीको भाउ निर्धारण गर्ने गरेको छ ।
नेपालमा सुनचाँदी व्यवसायी संघले सुनको मूल्य निर्धारण गर्छ । र, सोही अनुसार बजारमा कारोबार हुन्छ । सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपालमा सुनको मूल्य निर्धारणका लागि पहिले न्यूयोर्क एक्चेञ्ज अर्थात अन्तर्राष्ट्रिय बजारको कारोबार दरलाई आधार लिइन्छ ।
