जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आज शुक्रबारदेखि आइपिओ बिक्री खुला गर्दैछ । लघुवित्तले ५ लाख २२ हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।
जसमा ८ हजार कित्ता कर्मचारीका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले ४ लाख ८७ हजार ९ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिकित्ता १ सय रुपैयाँमा रुपैयाँमा आवेदन दिन सकिन्छ । आइपीओमा माघ २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन ६ गतेसम्म आवेदन दिन सक्नेछन् । आइपीओमा न्यूनतम १० देखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आवेदनकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसअघि आइपीओ निष्काशन हुँदा माग भन्दा कयौं गुणा बढी आवेदन पर्ने गरेको थियो ।
यो कम्पनीको आइपीओ पनि लामो समयपछि आउन लागेको भएर माग भन्दा बढी नै आवेदन पर्नेमा कम्पनी निश्चित छ । जसले गर्दा लगानीकर्ताले १० कित्ताको लागि आवेदन दिनु नै उपयुक्त हुने देखिन्छ । लक्की ड्र गरेर बाँडफाँड हुने भएकोले भाग्यमानी आवेदनकर्ताले १० कित्ता सेयर पाउनेछन् ।
आइपिओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ प्रदान गरेको छ।
पोखरामा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ। संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा सो शेयर निष्काशन पश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ।
यो सँगै बोर्डका तत्कालीन अध्यक्ष भीष्म ढुंगानाको वर्खास्तिसँगै अवरुद्ध भएको आइपिओ निष्काशन प्रक्रिया सुरू भएको छ।
