काठमाडौं – शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत गोरुसिङ्गे सहरी खानेपानी तथा सरसफाई आयोजना निर्माण, संचालन तथा व्यवस्थापनका लागि नगर विकास कोषसँग सम्झौता भएको छ ।
कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र गोरुसिङ्गे खानेपानी तथा सरसफाई उपभोक्ता समिति, कपिलबस्तुका अध्यक्ष नरेन्द्रराज टण्डनबीच बुधबार ऋण सम्झौता सम्पन्न भएको हो । सम्झौता कार्यक्रमममा बुद्धभूमि नगरपालिकाको प्रमुख केशव कुमार श्रेष्ठको पनि उपस्थिति थियो ।

१९ करोड १० लाख ५७ हजार रुपैयाँ लागतमा आयोजना निर्माण हुँदैछ । आयोजनामा नेपाल सरकारको तर्फबाट ७० प्रतिशत अनुदान वापत रु. १३ करोड ३७ लाख, नगर विकास कोषको तर्फबाट २५ प्रतिशत ऋण वापत ४ करोड ७७ लाख, आयोजनाबाट लाभान्वित हुने उपभोक्ताको तर्फबाट ५ प्रतिशत वापत ९५ लाख ५२ हजार रुपैयाँ व्यहोरिनेछ ।
बुद्धभूमि नगरपालिकाको वडा नं. २ मा सेवा समेटने उक्त आयोजनाबाट आयोजना निर्माण पश्चात सन् २०२३ मा २८५८ घरधुरीका १६४७५ जनसंख्या प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।
सम्झौता कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष नरेन्द्रराज टण्डनले आयोजनालाई सफलरुपमा सम्पन्न गराउन नगर विकास कोष, आयोजना व्यबस्थापन कार्यालय र नगरपालिकाबाट निरन्तर व्यवस्थापकिय तथा प्राविधिक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै आयोजनालाई सार्थक रुपमा आगडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै ऋण सम्झौतामा जमानतकर्ताको रुपमा हस्ताक्षर गरेका बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले शहरीकरणतर्फ उन्मुख हुदैगरेको बुद्धभूमि नगरपालिकाका लागि आयोजनाको महत्व माथि प्रकाश पार्दै यो आयोजना नगरपालिकाकै हालसम्मकै ठूलो आयोजना भएकोले नमूना आयोजनाको रुपमा सम्पन्न गर्न नगरपालिकाको सदैव साथ र सहयोग रहेन प्रतिवद्धता जाहेर गरे । उनले उपभोक्ता समितिलाई सबल बनाउन नगरपालिका प्रतिबद्ध र जिम्मेवार रहेको समेत बताए ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले नगरपालिका क्षेत्रमा निर्माण हुने आयोजनाको दिगो संचालन र व्यवस्थापनमा स्थनीय तहको महत्वपूर्ण भूमिका माथि प्रकाश पार्दै आयोजना समयमा गुणस्तरीय रुपमा सम्पन्न हुन उपभोक्ता संस्थाको संस्थागत सुशासनतर्फ ध्यानाकर्षण गराए ।
उनले आगामी दिनमा बुद्धभूमि नगरपालिकासंग शहरी पूर्वाधार, कृषि पूर्वाधार, पर्यटकीय पूर्वाधार, फोहरमैला व्यवस्थापन लगायतका अन्य आयोजनाहरुमा समेत सहकार्य हुने विश्वास व्यक्त गरे ।
