काठमाडौं – प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा नआएका १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको छ ।
केही महिनादेखि सम्बन्धित कार्यालयमा हाजिर नभएका तथा खोजबिन गर्दा पनि सम्पर्कमा नआएका १२ जनालाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ । सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेतावनी पनि मंगलबार जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।
कार्यालयले सम्पर्कविहीन १२ जनालाई यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैर हाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन आउन भनेको छ।
अन्यथा तपाईंहरू उपर प्रहरी नियमावली २०७१ को नियम ११३(१)को खण्ड (च)को कसुरमा सेवाबाट हटाउने कारबाही भइजाने हुँदा प्रहरी नियमावली २०७१ को अनुसूची १४ को भाग ४ को प्रयोजनार्थ यस सामूहिक सूचनाद्वारा तपाईंहरूलाई सफाईको मौका प्रदान गरिएको व्यहोरा जानकारी गराइएको छ, ’ सूचनामा उल्लेख छ ।
यसरी कार्यालयमा हाजिर नहुनेमा प्रहरी जवानहरू राजकुमार शाह, डिलबहादुर पुनमगर, विजेन्द्र कार्की, आशाराम महतो, वुद्धवीर तामाङ, मुस्कान वान्तवा, विष्णु विक, अर्जन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विक रहेका छन् ।

