दिपेन्द्र सिंह ऐरी र आदिल अन्सारीको विस्फोटक ब्याटिङमा टि-२० आई त्रिकोणात्मक सिरिज अन्तर्गतको नेपालले पपुवा न्युगिनीसामु २ सय ४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रनको विशाल योगफल तयार पारेको हो। चौथो विकेटका लागि ऐरी र अन्सारीले ७६ रनको उत्कृष्ट साझेदारी गरेपछि नेपालले पीएनजीसामु विशाल लक्ष्य प्रस्तुत गरेको हो।
दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६६ रनको महत्वपुर्ण योगदान दिए। ऐरीले २९ औँ बलमा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे। १७ औँ ओभरमा लगातार तीन छक्का प्रहार गरेका दिपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्का हाने।
आदिल अन्सारी ३१ रनमा पवेलिन फर्के। डेब्यु खेलमा नै विस्फोटक ब्याटिङ गरेका आदिलले ११ बलमा १ चौका र ३ छक्का हाने।
रोहित पौडेलले ४१ रन थपे। रोहित १४ औँ ओभरको दोस्रो बलमा रिले हेकुरेको बलमा सेसे बाउको हातबाट क्याच आउट भए। रोहितले २३ बलमा ४ चौका र २ छक्का हाने।
पहिलो विकेटका लागि ओपनर आशिफ शेख र कुशल भुर्तेलले ४४ रनको साझेदारी गर्दै नेपाललाई मध्यम सुरुवात दिलाएका थिए। ओपनर आशिफ शेखले ३८ रन थपे।
अर्का ओपनर कुशल भुर्तेलले १७ रन बनाउँदै पवेलियन फर्के। कुशलले २० बलमा २ चौका हाने। पीएनजीका लागि रिले हेकुरेले २ तथा नोर्मान भनुवाले एक विकेट लिए। रिलेले आफ्नो स्पेलमा २२ रन खर्चे।