काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् ।
अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।
सरकारले स्रोत जुटाउन राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ । २ खर्ब ५६ आन्तरिक ऋण उठाउने भनेको सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने छ । त्यसपछि बाँकी स्रोत पूर्तिका लागि २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने अर्थमन्त्री शर्माले जानकारी दिए ।
सरकारले चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
यस्तै सरकारले निजामती कर्मचारीहरुको तलबभत्तामा १५ प्रतिशतले वृद्धि गरेको छ । बजेटमार्फत सरकारले कर्मचारीहरुले खाइपाइ आएको भत्तालाई पनि निरन्तरता दिएको छ ।
अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ।
त्यस्तै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममा लागि ७ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेटमा उक्त कुरा उल्लेख गरिएको हो। अर्थमन्त्री जनार्दन शर्माले बजेटमा राष्ट्रिय श्रम प्रतिष्ठान गठन गर्ने कार्यक्रम पनि समावेश गरिएको बताए।
उद्योग तथा व्यवसायका क्षेत्रमा सुमधुर श्रम सम्बन्ध स्थापना, सामूहिक सौदावाजी प्रवर्द्धन, रोजगारदाता र श्रमिकबीच मेलमिलाप स्थापना, श्रम निरीक्षणको प्रभावकारिता अभिवृद्धि, श्रम बजारको अध्ययन र अनुसन्धान तथा श्रमिकहरुको सीप विकास र कल्याणकारी कार्य संचालनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सो प्रतिष्ठान आवश्यक रहेको पनि सरकारको आगामी आर्थिक वर्षको बजेटमा स्पष्ट पारिएको छ।
