काठमाडौँ – उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सर्वसाधारणलाई असर पर्न गएको जनाउँदै समितिले तत्कालै करमा ५० प्रतिशत घटाएर जनतालाई राहत दिन निर्देशन दिएको हो ।

समितिअन्तर्गतको बजार अनुगमन उपसमितिको बैठकले आज आयल निगमका पदाधिकारीसँग छलफल गरेको थियो । छलफलपछि समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र आयल निगमलाई हाल लाग्दै आएको करमा ५० प्रतिशत घटाउन निर्देशन दिएको हो ।

हाल पेट्रोलमा प्रतिलिटर ६५ रुपैयाँ ६१ पैसा, डिजेलमा ४९ रुपैयाँ ५३ पैसा, मट्टितेलमा १४ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर २५ रुपैयाँ ७५ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ३२० रुपैयाँ ८४ पैसा कर लाग्दै आएको छ ।

यस्तै पेट्रोलियम पदार्थमा मूल्य घटाउने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले संकेत गरेका छन्। मन्त्री बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गरेका हुन् ।

करका दरहरुमा समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने विषय संसदमा उठेर ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री बडूले त्यही अनुसार सरकार अघि बढ्ने बताए।

‘पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको छ। यसको समायोजनका लागि संसदमा कुरा उठेकाले ट्याक्स समायोजन गरेर भए पनि घटाउनेतर्फ कुरा भएको छ’, उनले भने, ‘अर्को विकल्प भनेको विद्युतको खपत बढाउने हो। त्यो कामलाई सरकारले प्राथमिकता दिएको छ।’

मन्त्री बडूले विद्युत खपत बढाएर पेट्रोलियम पदार्थको निर्भरता घटाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको दाबी पनि गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here