नेपाली सेनाका कमाण्ड सेनापतिहरूको २ दिने बैठक सुरु भएको छ। रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बिहीबार जंगी अड्डामा बैठक सुरु भएको हो।
बैठकमा रक्षा सचिव, जङ्गी अड्डाका पिएसओ रथीबृन्द, चारवटै कमाण्डका कमाण्ड सेनापतिहरु, विभिन्न विभाग, महानिर्देशनालय, कोर तथा निर्देशनालयका प्रमुखहरु तथा उपत्यका भित्र रहेका बाहिनीपतिहरु सहभागी छन्। सहभागी कमाण्ड तथा विभाग प्रमुखहरुले आ आफ्नो जिम्मेवारी र क्षेत्रको वर्तमान अवस्थाको बारेमा जानकारी गराउने र सुझाव दिने जंगी अड्डाले जानकारी दिएको छ।
कमाण्ड प्रमुखहरुसँगको छलफलमा उठेका विषय र सुझावलाई समेटेर नेपाली सेनाले महत्वपुर्ण नीति तथा योजना बनाउने छ।
बैठकको सुरुमा बोल्दै प्रधानमन्त्री देउवाले देशको सुरक्षा र प्रतिरक्षा जस्तो महत्वपुर्ण र संवेदनशील जिम्मेवारी बोकेको सेनाले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता तथा राष्ट्रिय एकतालाई बलियो बनाउन आफ्नो क्षेत्रबाट महत्वपुर्ण योगदान दिएको बताए। नेतृत्व तहमा रहेका पदाधिकारीहरुको इमान्दारीता र कर्तव्य पालनाबाट नै मातहतका फौजको हौसला र मनोवल उच्च हुने देउवाले बताए। नेपाली सेनाप्रति नेपाली जनताको विश्वास र भरोसा कायम राख्न प्रधानमन्त्रीले निर्देशन दिए।

प्रधान सेनापति प्रभुराम शर्माले शान्तिको समयमा सञ्चालन भएका तालिम एवं अभ्यासहरुले नै आपतकालिन परिस्थितिमा सहज हुने बताए। नेपाली सेनाले आन्तरिक रुपमा तथा विदेशी सेनाहरुसँग सहकार्य गरी तालिम तथा अभ्यासहरु सञ्चालन गर्दै आएको प्रधानसेनापति शर्माले जानकारी दिए।
‘नेपाली सेना मित्रराष्ट्रहरुसँगको सन्तुलित सम्बन्ध लगायत छिमेकी राष्ट्रहरुको सुरक्षा संवेदनशीलतालाई समेत मध्यनजर राखि राष्ट्रिय स्वार्थमा कुनै पनि किसिमको आघात हुन नदिने पक्षमा सजग र सतर्क रहँदै आएको छ’, प्रधानसेनापति शर्माले भने।
प्रधानसेनापति शर्माले सामरिक महत्वका तालिमहरु संचालन गर्न आवश्यक साधारण तथा समन्वयात्मक विषयमा नेपाली सेनाको व्यवसायिकता कायम राख्न नेपाल सरकारबाट पनि आवश्यक पहलकदमी हुने विश्वास व्यक्त गरे।
यस्तै उच्च प्राथमिकतामा रहेको काठमाडौं–तराई द्रुतमार्ग लगायत राष्ट्रिय गौरवका आयोजनाहरुमा श्रोत र साधनको सुनिश्चितता गरी निर्धारित समयमै सम्पन्न गर्न नेपाली सेना कटिबद्ध रहेको जानकारी गराए। सफा हिमाल अभियान, गो ग्रिन अभियान, लगायत विश्वमा देखिएका चुनौतीहरु मध्ये खाद्य सुरक्षा, आर्थिक सुरक्षा तथा साइबर सुरक्षा जस्ता राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने गतिविधिहरुमा सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गरिरहेको र त्यसबाट सृजना हुन सक्ने राष्ट्रिय सुरक्षा चुनौतीहरूलाई सामना गर्न सेना तयारी अवस्थामा रहेको बताए।
प्रधानमन्त्री तथा रक्षामन्त्री देउवाकै उपस्थितिमा सेनाको तर्फबाट प्रधानसेनापति शर्मा र रक्षा मन्त्रालयको तर्फबाट रक्षा सचिव किरणराज शर्माबीच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर पनि भएको छ।
