काठमाडौं – नेपाल प्रहरीका एआइजी मुकुन्दराज आचार्यले बुधबारदेखि अनिवार्य अवकाश पाएका छन् । एआइजीको ५६ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् ।

आचार्य प्रहरी एकेडेमीमा कार्यरत थिए । उनको अवकाशसँगै प्रहरीमा एआइजीको दुई पद रिक्त भएका छन् । यसअघि एआइजी विश्वराज पोखरेलले अवकाश पाएको पद रिक्त छ ।

मंसिरसम्म रबिन्द्र धानुक र अरुण बिसीले पनि अवकाश पाउँदैछन् ।  १५ कात्तिकमा बीसी र २५ कात्तिकबाट धानुुक अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि बढुवा गर्ने प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको तयारी छ ।

बीसी प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभाग प्रमुख र धानुुक उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख रहेका छन् । यो ब्याचबाट अन्तिममा ४ फागुनमा मानवस्रोत विभाग प्रमुख रहेकी एआईजी पूजा सिंहले अवकाश पाउनेछन् भने अन्य सबै प्रहरीमा उमेर हद, सेवा अवधि र कार्यकालको विषयमा केही उथलपुथल नभए १० चैत्रको मध्यरातबाट महानिरीक्षक धीरजप्रताप सिहसँगै सेवा हदका कारण अनिवार्य अवकाशमा जानेछन् ।

यतिबेला गृहमन्त्री बालकृष्ण खाण र बालुवाटार निर्वाचनको मुखमा निर्वाचन आयोगको सहमति लिएर रिक्त पदमा बढुवाको पक्षमा रहेका छन् । उच्च सरकारी अधिकारीहरूका अनुसार २२ असोजमा नयाँ कार्यसम्पादन मूल्यांकनअनुसार पर्खेर बढुवा गर्ने कि रिक्त हुने दुई पदमा तत्काल पुरानै कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्ने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको छ । यो विषय सम्भवतः महानिरीक्षक सिंह विदेशबाट फर्केपछि निक्र्यौल हुनेछ ।

यस्तै महानिरीक्षकको दौडमा रहेका वसन्तबहादुुर कुँवर, दीपक थापा, मीरा चौधरी, टेकप्रसाद राई, अशोक सिंह र श्याम ज्ञवालीमध्ये कुनै दुईको अहिले बढुवा गर्ने वा महानिरीक्षक सिंहकै ब्याचबाट बाँकी रहेका डीआईजीत्रय नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँलाई बढुवा गर्ने भन्ने विषयसमेत छलफलमा रहेको छ ।

प्रहरी प्रधान कार्यालयस्थित एक उच्च अधिकारीका अनुसार यतिबेला भावी महानिरीक्षकको दौडमा रहेका अधिकृतहरू अधिकांश यो बढुवामा रुचिकर देखिएका छैनन् । निर्वाचनको परिणामपछि हुने बढुवा उनीहरूको रोजाइमा रहेको छ ।

बढुवाको प्रमुख दाबेदारमा डिआइजीहरू बसन्त कुँवर, अशोक सिंह, टेकप्रसाद राई, दीपक थापा, किरण बज्राचार्य, उमेशराज जोशी, सन्दीप भण्डारी, मिरा चौधरी, भिम ढकाल, रामदत्त जोशी लगायत छन् ।

अहिले जो पहिलो नम्बरमा एआइजी हुन्छ, उसलाई चैतमा आइजिपी हुन सहज हुने भएकाले बढुवामा अस्वस्थ चलखेल सूरु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here