आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ । अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ ।
१३ कात्तिकमा छठ पर्वको बिदा छ । सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउनेछ ।
आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आइतबार काग तिहार मनाइएको थियो । आज घरको पहरेदार कुकुरलाई मनपर्ने खानेकुरा दिएर कुकुर तिहार मनाइन्छ । कुकुरको पूजा गरेमा ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ ।
आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप बालेर दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ ।
आजै साँझ धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । घर आँगन सफासुघ्घर राखी लक्ष्मीको भक्तिपूर्वक पूजा गरे धनधान्यले पूर्ण हुने धार्मिक विश्वास छ ।
गाईपूजा कात्तिक ८ गते मंगलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ ।
तिहारको मुख्य दिन भाइटीका कात्तिक १० गते परेको छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
