नेकपा एमालेले सबै प्रकारका भत्ता वृद्धि गर्ने घोषणा गरेको छ । एमालेले मंसिर ४ गते हुने आम निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै आर्थिक वृद्धिका आधारमा सबै प्रकारका भत्ता वृद्धि गर्ने घोषणा गरेको हो । जसअनुसार ५ वर्षमा श्रमिकको मासिक म्युनतम ज्याला २५ हजार रुपैयाँ बनाउने एमालेको प्रतिबद्धता छ ।
महिनावरी उमेर समूहका महिलालाई वर्षिक १५ सय भत्ता दिने योजना एमालेले सार्वजनिक गरेको छ। ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने नीति अनुसार १५ सय भत्ता दिने बताएको हो।
एमाले घोषणा पत्रमा सुरक्षित महिनावारी कार्यक्रमका लागि महिनावारी हुने उमेर समूहका देशभित्रका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदनिम्ति वार्षिक १ हजार ५ सय उपलब्ध गराइने बताइएको छ।
प्रसूति हुने शतप्रतिशत महिलाको गर्भावस्थाको नियमित स्वास्थ्यजाँच तथा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य संस्थाबाट प्रसूति सेवा सुनिश्चित गरिने समेत बताइएको छ।
ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निशुल्क आपत्कालीन उद्धार गर्न हवाइ एम्बुलेन्स र एम्बुलेन्सको व्यवस्था गरिने बताएको छ।
यस्तै एमालेकाे घाेषणापत्रमा सरकार गठन भएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्था अन्त्य गर्ने र छ महिनाभित्र नागरिकतासम्बन्धी समस्या हल गरिने उल्लेख छ । एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिने पनि जनाइएकाे छ ।
कृषिको व्यवसायीकरण गरिने तथा साना, मझौला र ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गरिने घाेषणापत्रमा उल्लेख छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) लाई आउँदाे पाँच वर्षभित्र १०० खर्ब रुपैयाँ र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी दाेब्बर अर्थात् ३ लाख रुपैयाँ (२४०० अमेरिकी डलर) पुर्याइने पनि उल्लेख छ ।
त्यस्तै, नेकपा एमालेले ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेको छ । चुनावी घोषणापत्रमार्फत एमालेले ७५ प्रतिशतलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेट्ने जनाएको छ ।
