गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई हटाएका छन्।
आज मन्त्री खड्कालाई जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री पोखरेलले उक्त मन्त्रालय आफैँले हेर्ने गरी राखेका हुन्। मुख्यमन्त्री पोखरेलले मन्त्री खड्कालाई हटाएको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएका छन्।
मन्त्री खड्का नेपाली कांग्रेसका निवर्तमान सांसद हुन्। उनी २०७४ सालमा समानुपातिक सांसद भएका थिए।
पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा खड्कालाई मन्त्रीबाट हटाइएको मुख्यमन्त्री पोखरेलनिकट स्रोतले जनाएको छ।
कास्की-२ को प्रदेश सभा २ मा टिकटको आकांक्षी रहेका खड्काले टिकट भने पाएनन् । सो यो क्षेत्रमा कांग्रेसबाट कानुनमन्त्रीसमेत रहेका विन्दुकुमार थापा उम्मेदवार छन् । खड्काले थापालाई हराउन लागेको आरोप लागेको छ ।
यसअघि मुख्यमन्त्री पोखरेलले ऊर्जा मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका थिए।

