ललितपुर- ललितपुरका तीनवटै क्षेत्रमा प्रतिनिधि सभातर्फ नेकपा एमालेले अग्रता लिएको छ । क्षेत्र नम्बर १ मा नवराज सिलवाल,२ मा प्रेम महर्जन र ३ मा अमृत खड्का तीनैजना एमालेका उम्मेदवार अगाडि छन् ।
क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले सुरूवाति अग्रता लिएका छन् । सिलवालले ६६५ मत पाउँदा नेपाली कांग्रेसका उदयशमशेर जबरा ४०१ मतसहित पछ्याइरहेका छन् भने स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा छन् ।
क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवारलाई हाम्रो नेपाली पार्टीका लौरो उम्मेदवारले पछ्याइरहेका छन् । अहिलेसम्म १० हजार ८८ मतगणना भएकोमा नेकपा एमालेका प्रेमबहादुर महर्जनले २९८० मत पाएका छन् भने हाम्रो नेपाली पार्टीका सुदिन शाक्य ‘लौरो’ले २४९७ मत पाएका छन्।
त्यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले १२७७ मत पाएका छन्। राप्रपाका रघुवार थापाले १२२६ मत पाएका छन् ।
ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता कायम राखेको छ। पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार अमृत खड्काले अग्रता कायम राखेका हुन्।
जारी मतगणनामा अहिलेसम्म १३ सय मतगणना भएको छ। जसमा खड्काले ५१६ मत ल्याएका छन्। दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेवार डा. तोसिमा कार्की छिन्। उनले ४९८ मत ल्याएकी छन्।
यसपछि रहेकी गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले २९७ मत प्राप्त गरेकी छिन्।
