झापा निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार देवराज घिमिरले करिब दोब्बर मतको अग्रता बनाएका छन्।
३८ सय ७७ मत गनिसक्दा झापा २ मा एमाले उम्मेदवार घिमिरेले १४ सय ३२ मत ल्याएका छन्। उनलाई नेकपा माओवादी केन्द्रका हरि राना र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले पछ्याउँदैछन्।
उनीहरुबीच अहिले दोस्रो स्थानका लागि टक्कर चलिरहेको छ। यहाँ रानाले ८३९ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार नेपालले ८०३ मत ल्याउन सफल भएका छन्।
२०७४ काे चुनावमा कम्युनिस्टहरूले प्रत्यक्षतर्फका १ सय ६५ मध्ये १ सय १९ सिट जितेका थिए । समानुपातिकसमेत जोड्दा १ सय ७७ जना सांसद थिए । अर्थात् संसद्मा झण्डै दुईतिहाइनजिक कम्युनिस्ट सांसदहरू थिए । दुई ठूला कम्युनिस्ट पार्टीहरू एमाले र माओवावादी केन्द्र वाम गठबन्धन गरेर चुनावमा गएका कारण कम्युनिस्ट २०७४ मा बलियो बनेर आएका थिए ।
पाँच वर्षअघिको कम्युनिस्टको वर्चस्व अहिलेको चुनावले निकै घटाउने देखिएको छ । मतदानमा देखिएको मतदाताको रुझानले गठबन्धन र पुराना दलप्रति प्रकट गरेको निराशाको प्रत्यक्ष असर यी कम्युनिस्ट दलहरूमा पर्ने देखिएको छ । यी दललाई प्राप्त हुने मत नयाँ र राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको लहरले घटाउने देखिन्छ ।
वाम गठबन्धन गरेर सरकारमा गएका एमाले र माओवादीले पाँच वर्ष सरकार चलाउन नसकेपछि त्यसकाे वितृष्णा पनि मतदानमा पोखिएको छ । सत्तास्वार्थ र विभाजनले नागरिकमा निराशा प्रकट गराइरहेको थियो ।
अघिल्लो चुनावमा १ सय २१ सिट जितेको एमाले अहिले निकै खुम्चिने देखिन्छ । अनि, ५३ सिट रहेको माओवादी पनि ओरालो लाग्ने देखिन्छ । त्यसमाथि एकीकृत समाजवादी पनि अहिलेको संख्याबाट कमजोर बन्ने संकेत देखिइसकेको छ ।
अहिले ५९ सिटमा कम्युनिस्टहरूबीच प्रतिस्पर्धा भइरहेको छ । जसले जिते पनि ती सिटमा कम्युनिस्ट सांंसद आउँछन् । अनि, समानुपातिकमा बढीमा ६० सिट आउने सम्भावना देखिन्छ । यसरी हेर्दा अघिल्लो चुनावभन्दा कम्तीमा ५८ सिट गुमाउने देखिन्छ । कम्युनिस्टहरूका घटेका सिट कांग्रेस, राप्रपा र रवि लामिछानेको पार्टीको भागमा पर्नेछन् ।
अघिल्लो चुनावमा १ सय ६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमा नेकपा एमालेले ८० सिट जितेको थियो । माओवादी केन्द्रले ३६ सिटमा जित्यो । नेमकिपा १ र जनमोर्चा १ सिटमा जितेका थिए । सम्पूर्ण कम्युनिस्टको मत मिलाउँदा ४८ प्रतिशत हुन आउँछ । समानुपातिकतर्फ एमालेका ४१ र माओवादीका १७ सांसद भएका थिए । समानुपातिकसमेत कम्युनिस्टका प्रतिनिधिको प्रतिशत जोड्दा ६४ प्रतिशत हुन आउँछ ।
त्यतिबेला कांग्रेसबाट त्यो चुनावमा प्रत्यक्षमा २३ सिट र ४० जना समानुपातिकबाट सांसद बनेका थिए । नेपाली कांग्रेसका ६३ सांसद थिए । २०७४ काे संसद्मा ६४.७२ प्रतिशत कम्युनिस्ट र अन्यको ३५.२८ प्रतिशत थियो ।
अहिलेको चुनावमा कम्युनिस्टहरू फरक–फरक गठबन्धनबाट चुनाव लडे पनि अधिकांश स्थानहरूमा कम्युनिस्टहरूबीच नै प्रतिस्पर्धा भइरहेको छ । २०१५ सालमा ४ जना कम्युनिस्ट संसद् पुगेका थिए भने २०७४ सालमा दुईतिहाइनजिक सांंसद संसद्मा पुगेका थिए ।
