गुल्मी – गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता गोकर्ण बिष्टले निर्वाचनबाट प्राप्त परिणामले आफूलाई अझ गम्भीर बनाएको बताएका छन् ।
चुनाव जितेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै उनले देश र जनताप्रति इमान्दारीपूर्वक कर्तव्य निर्वाह गर्ने बताए । जनताका अपेक्षा पूरा गर्न सही ढंगले अगाडि बढ्ने भन्दै बिष्टले यो निर्वाचनको परिणामले विगतमा जिल्लाको विकास र समृद्धिका लागि गरेका प्रतिबद्धतालाई अझ प्रभावकारी बनाउँदै पूर्णता दिने बताए ।
उनले आफ्नो जित साझा भएको भन्दै सम्पूर्ण मतदाता र आफूलाई सहयोग गर्नेहरुलाई धन्यवाद दिए ।
गुल्मी-२ बाट लगातार तीनवटा निर्वाचन जितेका बिष्टले निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई दुई हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।
उता, उनैसँग हारेकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले बधाई दिएकी छन्। अन्तिम मत परिणाम सार्वजनिक भएको दिन बुधबार झाँक्रीले सामाजिक सञ्जालमार्फत विष्टलाई बधाईका साथै सफल कार्यकालका लागि शुभकामना दिएकी हुन्। यति मात्र होइन, झाँक्रीले गुल्मीको विकास र समृद्धिको यात्रामा साथ दिने वचन पनि दिएकी छन्।
उनले फेसबुकमा लेखेकी छन्, ‘यो निर्वाचनमा विजयी मेरो आदारणीय दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना। गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा म सधैँ साथमा रहनेछु।’
निर्वाचनमा हार–जित हुनु सामान्य प्रक्रिया भएको उल्लेख गर्दै नेता झाँक्रीले आफ्नो पराजयलाई अत्यन्तै सहज रूपमा लिएको पनि बताएकी छन्। बरु यो निर्वाचनले आफूलाई ठूलो शिक्षा दिएको उनले उल्लेख गरेकी छन्।
‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमाञ्चक रह्यो। ज्ञानको हिसाबले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी। समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ’, उनले लेखेकी छन्, ‘यो साढे दुई दशकमा समाजलाई जसरी Depoliticization (एक प्रकारको गलत प्रयोग) गरिएको रहेछ नि, त्योचाहिँ लोकतन्त्रको लागि गम्भीर छ, डरलाग्दो छ।’
उनले आफू हारे पनि आफ्ना पक्षमा मत हाल्ने मतदाता तथा सहयोग गर्ने सहकर्मी र शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन पनि गरेकी छन्।
