नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २८ हजारभन्दा धेरै फराकिलो मतसहित प्रतिनिधिसभामा विजयी भएका छन्।
झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका उनले राष्ट्रिय प्रजातन्त्र पार्टीकोसमेत साथ लिँदा ५१ हजार ६१९ मतसहित विजयी भएका हुन्।
ओलीका प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २३१ मत ल्याए।
अध्यक्ष ओली र अधिकारीको मतान्तर २८ हजार ३८८ देखिएको छ। ओली निर्वाचित यस क्षेत्रमा १ लाख ५४ हजार २८९ मतदाता थिए। यहाँ ९८ हजार ६३१ मत खसेको थियो। जसमा ५११७ मत बदर भएको छ। एमाले अध्यक्ष ओली २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ सहित ६ पटक यही क्षेत्रबाट निर्वाचित भएका छन्।
हाल बालकोट, भक्तपुरका स्थायी वासिन्दा रहेका ओली २००८ साल फागुन ११ गते शनिबारका दिन इवा–२ तेह्रथुममा जन्मिएका हुन् । ओली परिवार पछि रणामती–६, झापामा बसाइँ सरेको थियो । पिता मोहनप्रसाद ओली र आमा मधु ओलीको कोखबाट जन्मिएका ओलीले डेढ वर्ष उमेरमै आमाको काख गुमाएका थिए । गरिव परिवार र आमाको वात्सल्यसमेत गुम्न पुगेकाले बाल्यकाल यिनको अत्यन्त दुःखपूर्ण रूपले बित्यो ।
लामो समय जेलनेल भोगेका नेता ओलीको राजनीतिक यात्रा झापाबाटै शुरु भएको हो । चर्चित झापा विद्रोहका एक मुख्य पात्र केपी ओली उक्त विद्रोहकालीन एक मात्र जीवित नेता हुन् । लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएका नेता भनी ओली सह्राइएका छन् ।
२०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा ओली निर्वाचित भएका थिए । त्यस्तै उनले वि.सं. २०५१ देखि २०५२ सम्म उनी गृहमन्त्री थिए । ०६४ देखि ०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्रमन्त्री भएका थिए भने नेकपा एमालेको प्रतिनिधित्व गर्दै विसं २०७२ असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीको रूपमा पहिलोपटक केपी ओली प्रधानमन्त्री बनेका थिए ।
तत्कालीन नेकपा (माले)को संस्थापक मध्येका एक खड्गप्रसाद ओली २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका हुन् । २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनी २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए । सोही वर्ष उनी जेलसमेत परेका थिए । पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका पात्र हुन् ।
बुर्जुवा शिक्षाको विरोध भन्दै शैक्षिक प्रमाणपत्र च्यात्ने समूहका सदस्य ओलीको शैक्षिक डिग्री कमजोर छ । झापामा विद्यालय जीवन सुरु गरेर ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमै पूरा गरेका थिए भने झापाको आदर्श माध्यमिक विद्यालयबाट २०२८ सालमा उनले प्रवेशिका परीक्षा (एसएलसी) पास गरेका हुन् । राम्रो अङ्ग्रेजी बोल्ने ओलीले जेलमै ‘डिक्सनरी’ रटेका थिए भनिन्छ । उनी भाषण गर्दा उखानटुक्कालाई प्रयोग गरेर हाँस्यरस मिसाउन खप्पिस छन् ।
