रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा गणनाका क्रममा मुचुल्कामा रहेको भन्दा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूले विरोध गरेपछि मतगणना रोकिएको छ ।
बिहान ५ः३० बजेबाट रोकिएको मतगणना कार्य सुचारु गराउने प्रयास भइरहेको निर्वाचन अधिकृत उदवीर नेपालीले जानकारी दिए ।
मतपेटिकामा मुचुल्कामा भन्दा ३४ वटा बढी मतपत्र भेटिएपछि रास्वपा र गठबन्धनका प्रतिनिधिहरूले मतदान स्थगित गर्न माग गरेका थिए । उनीहरू मतगणना छाडेर धर्ना बसेपछि रोकिएको मतगणना अहिलेसम्म सुरु भएको छैन ।
मुचुल्कामा लेखिएको मतपत्रको संख्या भन्दा केही फरक परे पनि महिला र पुरुषको मतपत्र भिडाउँदा संख्या मिल्न गएको निर्वाचन अधिकृत नेपालीले दाबी गरे ।
उनले दलका प्रतिनिधिहरूलाई छलफलका लागि बोलाइएको र केहीबेरमा मतगणना सुचारु हुने बताए । यहाँ नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले अग्रता लिएका छन् । अब करिब १० हजार मत गन्न बाँकी छ ।
