काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकता प्रक्रिया थाल्ने बताएका । निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएपछि एकता प्रक्रियाको थालनी गरिने उनको भनाई छ ।
,‘अब निर्वाचनको सबै नतिजा आएपछि हामी एउटा समिक्षा गर्छौं । अहिले भर्खरै नतिजा आउन थालेका छन् । पूर्ण नतिजा आएपछि माधवजीसँग वार्ता गरेर एकताको प्रक्रिया सुरु हुन्छ ।’ प्रचण्डले भने।
निर्वाचनको पछिल्लो मतगणनामा माओवादी केन्द्रका नेताहरु सन्तुष्ट छैनन् । प्रचण्डले चुनाव हुनुभन्दा अघि आफ्नो दल निर्वाचनपछि पनि निर्णायक तेस्रो शक्तिमा रहने बताएका थिए ।
गठबन्धनकै नेतृत्वमा सरकार बन्ने उनको दाबी थियो । प्रारम्भिक नतिजा हेर्दा गठबन्धन साँघुरो बहुमतर्फत नै अघि बढेको छ।
उता, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पनि माओवादीसँगको एकता थाल्नेबारे सकारात्मक जवाफ दिए । उनले आफूहरु निर्वाचनलगत्तै छलफलमा बस्ने बताए ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सिद्धान्त र आदर्शमा अघि बढ्ने हो भने एमालेसहित वामहरूबीच एकता हुन सक्ने बताएका छन्।
रौतहट १ बाट निर्वाचित भएपछि प्रतिक्रिया दिँदै नेपालले वामको नाममा गलत प्रवृत्ति लिएकाहरूसँग भने एकता सम्भव नभएको बताए।
उनले अबको सरकार कसको भन्छ भन्ने भन्न नसकिने पनि उल्लेख गरे। संसदीय जितलाई उनले आफ्नो इमान्दारिता र निष्ठाप्रति जनताको विश्वासका रूपमा लिएको बताए।
पार्टीको समग्र परिणाम भने सोचेभन्दा कम आएको उनले बताए। ‘यो हामीले सोचेभन्दा कम हो। हाम्रा कमी-कमजोरी पनि भएका होलान्। तिनलाई अब सुधारेर जानुपर्छ,’ उनले भने। एकीकृत समाजवादीले अहिलेसम्म ७ मा जित हात पारेको छ भने तीन ठाउँमा अग्रता लिइरहेको छ।
