प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये १६४ सिटको नतिजा सार्वजनिक भएको छ। प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) तर्फ नेपाली कांग्रेसले सबैभन्दा धेरै ५७ सिट जितेको छ। पछिल्लोपटक बाजुरामा बद्रीप्रसाद पाण्डे विजयी भएसँगै कांग्रेसको सिट संख्या ५७ पुगेको हो।
दोस्रोमा सबैभन्दा धेरै नेकपा एमालेले अहिलेसम्म ४४ सिट जितेको छ। तेस्रोमा नेकपा माओवादी केन्द्र छ। दोलखाको मात्र नतिजा सार्वजनिक हुन बाँकी हुँदा उसले प्रतिनिधिसभा प्रत्यक्षतर्फ १७ सिट हात पारेको छ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म नेकपा एकीकृत समाजवादीले १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर ७ सिट जितेका छन्।
आयोगको तथ्यांकअनुसार लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले १/१ सिट जितेका छन् भने स्वतन्त्र उम्मेदवार ५ जना प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन्।
प्रतिनिधिसभा समानुपातिकतर्फ दुई जिल्लाको मत मात्र जोड्न बाँकी रहेको निर्वाचन आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।
‘बाजुरा र दोलखाको मत विवरण हामी (निर्वाचन आयोग) कहाँ आइपुगेको छैन। यी दुई जिल्लाको समानुपातिक मत इन्ट्री गर्न बाँकी छ,’ सहायक प्रवक्ता अर्यालले भने।
उनका अनुसार समानुपातिकतर्फ अब दोलखामा ८० हजारभन्दा केही बढी रर बाजुरामा ६५–७० हजारजति मत हुने अनुमान गरिएको छ। अहिलेसम्म गणना गरिएको समानुपातिक मतमध्ये १ करोड ४ लाख २० हजार १ सय २५ मत सदर भएको आयोगको तथ्यांकले देखाएको छ।
प्रतिनिधिसभा समानुपातिकतर्फ अहिलेसम्म सात दलले मात्र थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मापदण्ड पूरा गरेका छन्। आयोगका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाइसकेका हुन्।
लगभग डेढ लाख मत गन्न बाँकी रहँदा सत्तारुढ नेकपा एकीकृत समाजवादी पनि थ्रेसहोल्ड कटाउने संघर्ष गरिरहेको छ। यो खबर तयार पार्दासम्म उसले २ लाख ९४ हजार ५ सय २३ समानुपातिक भोट ल्याएको छ।
आयोगका सहायक प्रवक्ता अर्यालका अनुसार अहिलेसम्मको आकलनले थ्रेसहोल्डको सीमा ३ लाख १७–१८ हजार मतमा पुग्ने देखिएको छ।
कूल सदर मतको ३ प्रतिशत मतलाई थ्रेसहोल्डको सीमा तोकिएको छ। प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको दलले थ्रेसहोल्ड कटाए राष्ट्रिय दलको मान्यता पाउँछन्। प्रत्यक्षतर्फ एउटा पनि सिट नजितेका दलले पनि समानुपातिकतर्फ थ्रेसहोल्ड पार गरे मतको संख्याअनुसार सांसद राख्न पाउँछन्। तर यस्तो कुनै पनि दल देखिएन।
