लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
मंगलबार बेलुकी प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच बालुवाटारमा कुराकानी भएको हो। अध्यक्ष ठाकुरले लोसपालाई पनि सत्ता गठबन्धनमा सहभागी गराउनेबारे कुराकानी गरेका थिए।
लोसपाले आफूहरूलाई पनि सत्ता गठबन्धनका बैठकमा बोलाउनुपर्ने माग गर्दै आएको छ। चुनावमा लोसपा पनि सत्ता गठबन्धनसँग तालमेलमा थियो।
‘प्रधानमन्त्रीजीसँग समसामयिक राजनीतिक विषयमा कुराकानी भएको हो,’ अध्यक्ष ठाकुरले भने, ‘चुनावी समीक्षालगायत कुराकानी भयो।’ अध्यक्ष ठाकुरले लोसपा गठबन्धनमै रहेकाले नयाँ सरकारमा सहभागी हुने विषयमा सकारात्मक रहेको बताएका थिए।
राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टी निश्चित समयसम्म गठबन्धन रहनुपर्ने पक्षमा रहेको उनले बताए।
‘सत्तामा गए पनि नगए पनि गठबन्धन कायम होस् भन्ने हाम्रो भावना छ। सत्तामा सहभागी हुनु ठूलो कुरा होइन, राजनीतिक अस्थिरताले विकासको काममा असर पर्छ, त्यसैले स्थिरता र विकासका लागि निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छ,’ उनले भने।
सत्ता गठबन्धनमा सहभागी हुनेबारे औपचारिक निर्णय गर्न लोसपाको कार्यकारिणी बैठक पुसको पहिलो साता बस्दैछ। प्रतिनिधि सभामा लोसपाका ४ जना सांसद छन्।
